Pancham Adhikari’s blog
सारांशमा ‘प्रवासीको देश हुन्न’: प्रवासीको देश हुन्नका कथाहरूमा अनेक विविधता छ। अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, कन्या राशीको ‘चालू प्रेमी’, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, सपना लत्याएर जोखिमबाट तर्केर ‘अनि ऊ भागी’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, अथेन्टीक खोज्ने फिरिङ्गीसँगको ‘फिरन्ते अनुराग’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन्। समाविष्ट कथाहरू: १ सानो सेक्रेट२ नेहा३ लोकल हिरो४ घातक आकर्षण५ प्रवासीको देश हुन्न६ चालू प्रेमी७ तिम्रो लोग्ने खै ?८ अनि ऊ भागी९ पिकासो केटी१० फिरन्ते अनुराग११ यो बर्बादी१२ इपिसेन्टर पालुङटार१३ इडियट१४ तिम्री स्वास्नी यस संग्रहमा रहेका १४ उत्कृष्ट कथाहरू या त प्रवासी जीवनको अवस्थितिमा लेखिएका छन् वा त्यसको बाछिटा परेको नेपाली मनस्थितिमा।मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना, र बहुसंस्कृतिवाद (मल्टीकल्चरालिज्म) एवं विश्वबन्धुत्त्व (कज्मोपोलिटनिज्म) को परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी टोटालिटीमा बाँच्नेहरूको कहानीहरूले हाम्रो स्वदेशी दिमाग र बाहिरी संसार बीचको खाडललाई चुनौती दिन्छ।कतै संस्मरण जस्तो लाग्ने त कतै यथार्थवादी छन् यी कथ्य। यदि जीवनको व्यर्थताहरूमा दार्शनिक आनन्द खोज्नु र कल्पनाशील बन्दै खितखिताउन रमाइलो मान्नु हुन्छ भने यी कथाहरू तपाईंका खुराक हुन्। लेखक परिचय: तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका सर्वाधीक प्रतिष्ठित प्रिन्ट मिडियाहरु र पछि नेपाल टेलिभिजनसँग आबद्ध भइ काम गरेका थिए । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासंबन्धी अध्ययन गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी सपरिवार उतै बस्छन् र ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गरे झैं गर्छन् तर अन्तर्मनमा उनी एक लेखक र विश्वयात्री हुन्। उनका लेख-रचनाहरू प्रतिष्ठित नेपाली मिडियाहरूमा प्रकाशित भैरहन्छन्। पथिक प्रवासन उपन्यासका लेखक अधिकारीको दोस्रो कृति हो, कथा-सँग्रह- प्रवासीको देश हुन्न। Follow him on: Facebook: www.facebook.com/pancham.adhikary/On Tiktok: www.tiktok.com/@pancham.aसंक्षेपमा ‘प्रवासीको देश हुन्न’ का कथाहरू- सानो सेक्रेट:अमेरिकामा हुर्केको एउटा नेपाली बच्चा सुविनको नेपाल भ्रमण र उसका अनुभवहरूको ब्याख्यान। समवयी भाइबहिनीहरू र साथीदेखि ‘संगत बिगार्ने केटा’ सँगको उसका अनुभवहरूको मर्मभेदी गद्य। अमेरिकी क्रेजहरूको फेहरिस्त भएको यस कहानीमा किशोरहरूको नजरबाट वयस्कहरूको प्रवासी सपना र नियतिलाई उजागर गरिएको छ। नेहा:न्युयोर्कबाट फर्किएकी प्रख्यात ब्युटीसियन नेहालाई आफ्नै आदर्शमा काठमाण्डुमा भुल्ने ठाउँ चाहिएको थियो। संघर्षले उसले काम पाई, र प्रतिष्ठा पनि। ऊ सौन्दर्य सेलिब्रिटीका रूपमा चर्चित भई। कलिउड र बलिउडदेखि हलिउडसम्मका स्टारहरू नेहाका ग्राहक थिए। हलिउड स्टारसँगको भेटलाई कथाकारले विनोदपूर्ण रूपमा प्रस्तुत गरेका छन्। नेहाको जीवन दर्शनमा जवानीमा बिहे गर्ने, लोग्ने हुनुपर्ने र बच्चा पाउने कुरा समाजको माकुरी जालो थियो। तर, चालिस नाघेपछि ‘मिडलाइफ क्राइसिस’ शुरू हुन्छ। उसलाई जीवनमा धेरै थोक पाइयो तर बच्चा पाइएन भनेर अत्यास लाग्न थाल्छ। उसले उसैको जस्तो आदर्श बोकेको साथी पाई र गर्भवति भई। सारा खुशी पाएकी नेहाको अन्तिम खुशी, सोचेभन्दा फरक भयो। लोकल हिरो:एक सुधो कम्प्युटर इन्जिनियर पढाईमा दखल राख्छ तर जीवन सादा हुन्छ। ऊ जीवनमा रंग भर्न चाहन्छ, र पुर्ख्यौली गाउँ फर्कन्छ, आफ्नो हाइस्कूले ‘लोकल हिरो’ को पदचाप खोज्दै। घातक आकर्षण:राजधानीका दिग्गज नेताकी छोरी र सहरको…