The Sound of My Prose - Pancham Adhikary

सारांशमा ‘प्रवासीको देश हुन्न’:  

प्रवासीको देश हुन्नका कथाहरूमा अनेक विविधता छ। अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, कन्या राशीको ‘चालू प्रेमी’, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, सपना लत्याएर जोखिमबाट तर्केर ‘अनि ऊ भागी’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, अथेन्टीक खोज्ने फिरिङ्गीसँगको ‘फिरन्ते अनुराग’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन्।

 

समाविष्ट कथाहरू:

१ सानो सेक्रेट
२ नेहा
३ लोकल हिरो
४ घातक आकर्षण
५ प्रवासीको देश हुन्न
६ चालू प्रेमी
७ तिम्रो लोग्ने खै ?
८ अनि ऊ भागी
९ पिकासो केटी
१० फिरन्ते अनुराग
११ यो बर्बादी
१२ इपिसेन्टर पालुङटार
१३ इडियट
१४ तिम्री स्वास्नी

यस संग्रहमा रहेका १४ उत्कृष्ट कथाहरू या त प्रवासी जीवनको अवस्थितिमा लेखिएका छन् वा त्यसको बाछिटा परेको नेपाली मनस्थितिमा।

मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना,  र बहुसंस्कृतिवाद (मल्टीकल्चरालिज्म) एवं विश्वबन्धुत्त्व (कज्मोपोलिटनिज्म) को परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी टोटालिटीमा बाँच्नेहरूको कहानीहरूले हाम्रो स्वदेशी दिमाग र बाहिरी संसार बीचको खाडललाई चुनौती दिन्छ।

कतै संस्मरण जस्तो लाग्ने त कतै यथार्थवादी छन् यी कथ्य। यदि जीवनको व्यर्थताहरूमा दार्शनिक आनन्द खोज्नु र कल्पनाशील बन्दै खितखिताउन रमाइलो मान्नु हुन्छ भने यी कथाहरू तपाईंका खुराक हुन्।

तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका सर्वाधीक प्रतिष्ठित प्रिन्ट मिडियाहरु र पछि नेपाल टेलिभिजनसँग आबद्ध भइ काम गरेका थिए । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासंबन्धी अध्ययन गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी सपरिवार उतै बस्छन् र ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गरे झैं गर्छन् तर अन्तर्मनमा उनी एक लेखक र

विश्वयात्री हुन्। उनका लेख-रचनाहरू प्रतिष्ठित नेपाली मिडियाहरूमा प्रकाशित भैरहन्छन्। पथिक प्रवासन उपन्यासका लेखक अधिकारीको दोस्रो कृति हो, कथा-सँग्रह- प्रवासीको देश हुन्न

Follow him on:

Facebook:  www.facebook.com/pancham.adhikary/
On Tiktok:                        www.tiktok.com/@pancham.a

संक्षेपमा ‘प्रवासीको देश हुन्न’ का कथाहरू-

सानो सेक्रेट:
अमेरिकामा हुर्केको एउटा नेपाली बच्चा सुविनको नेपाल भ्रमण र उसका अनुभवहरूको ब्याख्यान। समवयी भाइबहिनीहरू र साथीदेखि ‘संगत बिगार्ने केटा’ सँगको उसका अनुभवहरूको मर्मभेदी गद्य। अमेरिकी क्रेजहरूको फेहरिस्त भएको यस कहानीमा किशोरहरूको नजरबाट वयस्कहरूको प्रवासी सपना र नियतिलाई उजागर गरिएको छ।

नेहा:
न्युयोर्कबाट फर्किएकी प्रख्यात ब्युटीसियन नेहालाई आफ्नै आदर्शमा काठमाण्डुमा भुल्ने ठाउँ चाहिएको थियो। संघर्षले उसले काम पाई, र प्रतिष्ठा पनि। ऊ सौन्दर्य सेलिब्रिटीका रूपमा चर्चित भई। कलिउड र बलिउडदेखि हलिउडसम्मका स्टारहरू नेहाका ग्राहक थिए। हलिउड स्टारसँगको भेटलाई कथाकारले विनोदपूर्ण रूपमा प्रस्तुत गरेका छन्। नेहाको जीवन दर्शनमा जवानीमा बिहे गर्ने, लोग्ने हुनुपर्ने र बच्चा पाउने कुरा समाजको माकुरी जालो थियो। तर, चालिस नाघेपछि ‘मिडलाइफ क्राइसिस’ शुरू हुन्छ। उसलाई जीवनमा धेरै थोक पाइयो तर बच्चा पाइएन भनेर अत्यास लाग्न थाल्छ। उसले उसैको जस्तो आदर्श बोकेको साथी पाई र  गर्भवति भई। सारा खुशी पाएकी नेहाको अन्तिम खुशी, सोचेभन्दा फरक भयो।

लोकल हिरो:
एक सुधो कम्प्युटर इन्जिनियर पढाईमा दखल राख्छ तर जीवन सादा हुन्छ। ऊ जीवनमा रंग भर्न चाहन्छ, र पुर्ख्यौली गाउँ फर्कन्छ, आफ्नो हाइस्कूले ‘लोकल हिरो’ को पदचाप खोज्दै।

घातक आकर्षण:
राजधानीका दिग्गज नेताकी छोरी र सहरको कुख्यात गुन्डा नाइकेको प्रेम-प्रसंग। माया र घृणाको समजोडले बुनिएको सप्तरंगी यादहरू र घातक आकर्षणले भरिएको कहानी।

प्रवासीको देश हुन्न:
काठमाण्डु एयरपोर्टमा एक प्रवासीको झमेला हुन्छ – हरियो पासपोर्टको अवगाल। अनि ऊ ‘चिया खाने पैसा’ आश गर्ने कर्मचारीकोमा पुग्छ। बाकसमा फर्केको छोराको लाश लिन आएकी बुढी आमैको धुम्म अनुहार र उनले मजेत्रोले पुछ्दै गरेकी वेदनाको आँशु देखेर ऊ निथ्रुक्क हुन्छ। बाकसमा फर्कनपर्नेहरू र विदेशको जेलमा सड्नेहरूका निम्ति के हो राष्ट्रियता?
यदी देश भनेको माटो वा भूभाग हो भने यिनीहरूका निम्ति एउटा बाकस नै भूभाग हो, र बाकसको बिल्ला नै झण्डा हो।
आखिर के रैछ र जिन्दगी? फकिरको घर हुन्न, प्रवासीको देश हुन्न।
प्रवासी मनोविज्ञान र प्रवासिनेहरूको बाछिटाले ल्याएको सामाजिक बेथिति र नियतिको कथा।

चालू प्रेमी:
हाटहुटे ग्याङको केटो विक्रम ‘वुमनाइजर’ टाइपको हुन्छ। ‘प्लस टु की यार’ सँग उसको मन अल्झेको हुन्छ। क्याम्पस सकिँदासम्म यी प्रेमीहरू कुन कित्तामा पुग्छन्? र, को हुन्छ- चालू प्रेमी?

तिम्रो लोग्ने खै?:
बेबी सिटर रोजगारीमा युरोप आएकी एक प्रवासी युवति ‘कुमारी आमा’ बन्छे। कुनै पित्ले भुँडीवाला भूतको यौन शोषणमा पर्छे।

अनि ऊ भागी:
एक पुरातनबादी परिवारकी छोरी सरलाका अभिभावकहरू चाहन्छन्- उसले नर्सिङ पढोस् र पिआरवाला केटासँग बिहे गरोस्। यद्यपि उसको सपना अर्कै हुन्छ र महत्त्वाकांक्षी रहर पालेर राजधानी सहर पढ्न जान्छे। तर अभाग्यवश, दुष्टहरूको फन्दामा …

पिकासो केटी:
शाही कथा हाल्ने लत परेकी असामान्य अस्थिर केटी सोनिया रखौटी हुन्छे। आफ्नो राजासँग झगडा गरेपछि ऊ प्रहरी चौकी पुग्छे। चौकीमा ऊ रातारात ‘पिकासो केटी’ भनेर चर्चित हुन्छे। उनीहरूको साइनो असंगत चाहनाको असंगत मिलापत्रमा अल्झेको हुन्छ।

फिरन्ते अनुराग:
ब्रेकअपपछि दिमाग फ्रेस गर्न नेपाल भ्रमणमा पुगेकी सोफी जे गर्थी झर्रो रैथाने अथेन्टीक स्वाद, अथेन्टीक पहिरन र अथेन्टीक पाराले गर्न रूचाउँथी।
यो विदेश जाने नेपालीको प्रवासी ब्याख्यान होइन, नेपाल आएकी पर्यटकसँग उठबसको आख्यान हो।

यो बर्बादी:
क्याम्पसको गहना मानिएको देवेन एउटै घटनाबाट बेपत्ता हुन्छ र व्यक्तित्त्वको स्खलन हुन्छ। अर्कोतर्फ सहपाठी दौतरी ‘मिस पपुलर’ प्रोटगनिस्ट कलेज-जीवनपछि सफल टीभी प्रस्तोता बन्छे, तथापि उसमा देवेन गुमाउनुको पछुतो र पीडा हुन्छ। तर सबैको रोमान्टीक कहानी संयोगान्त हुँदैन।

इपीसेन्टर पालुङटार:
पहिलो प्रेममा धोखा खाएपछि अरब हान्निएको मनु महाभूकम्पको घाउमा मल्हम लगाउन इपीसेन्टर गोरखा पुग्छ जहाँ उसको दैयन्दिनीको इपीसेन्टर हुन्छे एक पसल्नी। एकलकाँटे र सुधो कथावाचकको दुनियाँमा पप संस्कृति, सांसारिक विवरण, यथार्थवाद, रहस्य, हाँस्य र हल्का कामुकताको विशिष्ट मिश्रणले बुनिएको छ यो अनौठो कहानी।

इडियट:
ढोँगी जीवनको मनोब्लग हो यो कथा। प्रवासमा पार्ट-टाइम प्रेमिकाको प्यारमा पुलकित हुन नसकेको प्रोटगनिस्ट मिड-फाइफ क्राइसिसमा जाकिन्छ। यस कथामा मानवीय जीवनमा आइरहने दैनिक संकट र मोहभंगको वर्णनका साथै आत्म-सचेतना र अस्तित्वगत मूल्यको विवेचन पाइन्छ।

तिम्री स्वास्नी:
थोरै प्रयोगमा आउने आख्यान लेखनको प्रविधि द्वितीय पुरुष (‘तिमी’ संबोधन) मा कथिएको छ यो यौनकथा। हत्ते गरेर पाएको स्वास्नीलाई कस-कसले पो आँखा लगाउँछन्! यौन मनोविज्ञानको विश्लेषण गरिएको यो आख्यान अरू कथाहरूभन्दा फरक स्वादको छ।

पंचम अधिकारीका कृतिहरू।

The Sound of My Prose - Pancham Adhikary